देउखुरी लमही, असोज- १०। लमही – कोइलाबास जोडने सडक अन्तर्गत देउखुरीको लमही नगरपालिका -४ स्थित सेमरहवामा जहाँ बिहान सबेरैदेखि त्रिपाल सडक सडकछेउमा महिलाहरू तरकारी बेच्न व्यस्त देखिन्छन्। लमही–गढवा–कोइलाबास जोड्ने मुख्य सडक खण्डको छेउमा उनीहरूको “पसल” भनेको त्रिपाल, तराजु , स्थानीय उत्पादित तरकारी र प्लास्टिक मात्र हो। “घरमा बारीमा जे फल्छ, त्यही ल्याएर बेच्छन। बजार छैन, यही सडक किनारमै बेचिरहेका छन् । ५/६ वर्षदेखि यसरी तरकारी बेच्दै आएका छन्। सुरक्षा छैन, सुविधा छैन न त पानी पिउने ठाउँ छ, न शौचालय। नत वर्षातबाट सुरक्षित छन् ,नत टन्टलापुर्ण घामबाट सुरक्षित छन् । बस्ने त्रिपाल छ , दिनभरी बस्दा स्वास्थ्यमा समस्या त छ नै घाम लाग्दा तातोबाट जोगिन सकिन्न। बाटोमा ओहोर दोहोर गर्ने यात्रुहरु नै यहाँका ग्राहकहरु हुन । सडकमा गुड्ने गाडीको धुलो, हर्नको आवाज, अनि गहकिला तरकारी बेच्नुपर्ने बाध्यता — यही हो उनीहरूको दैनिकी।
स्थानीय तहको ध्यान किन छैन? लमही नगरपालिका अन्तर्गत सेमरहवा जस्तो ग्रामीण बस्तीमा कृषि उत्पादन प्रशस्त छ। तर, बजार व्यवस्थापन भने उपेक्षित जस्तै। स्थानीय महिलाहरूले घरेलु उत्पादन सस्तोमा बेच्दै आएका छन्, तर उनीहरूका लागि न स्थायी टहरा छ, न सुरक्षित बिक्री केन्द्र। स्थानीय सरकारको योजनामा “कृषि बजार” बनाउने योजना भनिए पनि, व्यवहारमा अझै सडककै भर पर्नु परिरहेको छ। सम्बन्धित निकायले यस प्रकारले आफ्नै देशमा केही गरौं भन्ने सोच भएका किसानहरुलाई समयमै सुबिधाजनक व्यवस्थापन गर्न सके हौसला बढ्ने थियो होला ।
























