दाङ, राजपुर। राजपुर गाउँपालिका–१, कठबेरुवास्थित बाल जनता आधारभूत विद्यालयमा जन्मदिनको अवसर पारेर विद्यार्थीलाई २० हजार रुपैयाँभन्दा बढी मूल्यका शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गरिएको छ।
ज्योति आधारभूत विद्यालय, राजपुर–१ गुरुङखोलाका पूर्व प्रधानाध्यापक तथा हाल सहायक प्रधानाध्यापक दिलबहादुर शाहीले आफ्नो जन्मदिनको अवसरमा बाल जनता आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन्। विद्यार्थीको शैक्षिक आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले सामग्री वितरण गरिएको ज्योति आधारभूत विद्यालयका शिक्षक रोशन यादवले बताए।
विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य प्रेमलाल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राजपुर गाउँपालिका–१ का वडा अध्यक्ष सूर्यप्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन शिक्षक खेमराज यादवले गरेका थिए।

सोही अवसरमा शाहीले विद्यालयमा ‘बर्थ डे मनी सेभिङ बक्स’ समेत स्थापना गरेका छन्। उनले बक्समा प्रारम्भिक रूपमा ५ सय ५ रुपैयाँ जम्मा गरी त्यसको उद्घाटन गरेका थिए।
बक्समा संकलित रकमबाट विद्यालयका आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीमध्ये पढाइमा राम्रो प्रगति गरिरहेका विद्यार्थीलाई वर्षमा एकपटक आवश्यकताका आधारमा सहयोग गर्ने योजना रहेको शिक्षक यादवले बताए।
जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी विद्यार्थीको शिक्षा र भविष्य निर्माणमा सहयोग पुग्ने गरी गरिएको यस पहलले विद्यालयमा सहयोग, सामाजिक उत्तरदायित्व र शिक्षाप्रतिको सकारात्मक भावना विकास गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।


























