दाङ/ राजपुर , असोज- १ । राजपुर गाउँपालिका–१ कठबेरुवा र गुरुङखोला जोड्ने मार्गमा पर्ने भल्लेछेरा खोलामा पुल नहुँदा स्थानीयवासी तथा यात्रुले वर्षौंदेखि आवतजावतमा समस्या झेल्दै आएका छन्।
कठबेरुवा–गुरुङखोला जोड्ने महत्वपूर्ण मार्गका रूपमा रहेको उक्त खोलाबाट दैनिक सयौंको संख्यामा मानिस आवतजावत गर्ने गर्दछन्। तर, खोलामा पुल नहुँदा विशेषगरी वर्षायाममा खोलामा पानीको बहाव बढेसँगै आवतजावत थप जोखिमपूर्ण बन्ने गरेको छ।

खोलामा पानी बढ्दा विद्यार्थी, वृद्धवृद्धा, महिला तथा अन्य सर्वसाधारणले जोखिम मोलेर खोला वारपार गर्नुपर्ने अवस्था आउने गरेको स्थानीयको गुनासो छ। सामान्य अवस्थामा समेत खोलामा जम्ने बालुवा, हिलो तथा कच्ची बाटोका कारण पैदलयात्रा र सवारीसाधन सञ्चालनमा कठिनाइ हुने गरेको स्थानीय बताउँछन्।
भल्लेछेरा खोला हुँदै दैनिक आवतजावत गर्ने सर्वसाधारणको चाप रहेकाले यहाँ स्थायी पुल निर्माण आवश्यक रहेको स्थानीयवासीको भनाइ छ। उनीहरूले पुल निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।
पुल निर्माण भएमा कालाकाटे–सिक्टा हुलाकी मार्ग हुँदै कठबेरुवा, गुरुङखोला लगायतका बस्तीमा आवतजावत सहज हुने तथा स्थानीय बासिन्दाको शिक्षा, स्वास्थ्य, व्यापार र दैनिक आवतजावतमा समेत सुविधा पुग्ने स्थानीयको अपेक्षा छ।
स्थानीयवासीका अनुसार पुल निर्माणले वर्षायाममा हुने जोखिम न्यूनीकरण गर्नुका साथै आसपासका बस्तीलाई बजार तथा मुख्य सडकसँग जोड्नसमेत महत्वपूर्ण भूमिका खेल्नेछ।

वर्षौंदेखि भोग्दै आएको समस्याको दीर्घकालीन समाधानका लागि भल्लेछेरा खोलामा पुल निर्माणलाई प्राथमिकतामा राख्दै यथाशीघ्र आवश्यक पहल गर्न सम्बन्धित तीनै तहका सरकारसँग स्थानीयवासीले माग गरेका छन्।

























