दाङ देउखुरी । दाङ देउखुरी क्षेत्रमा शैक्षिक सत्र सुरु नहुँदै देखिएको भर्ना होडबाजी र घरदैलो अभियान नियन्त्रण गर्न चारै स्थानीय तह सक्रिय बनेका छन्। प्याब्सन तथा एन–प्याब्सन प्रतिनिधि समेत सहमति गराई लमही न.पा. र राजपुर गाउँपालिकाले औपचारिक सूचना जारी गरिसकेका छन् भने अन्य स्थानीय तहहरूले पनि सोही प्रकृतिका निर्देशन लागू गर्ने तयारी गरेका छन्।
जारी सूचनाअनुसार शैक्षिक सत्र वैशाख १ गतेदेखि मात्र सुरु हुने व्यवस्था स्पष्ट पारिएको छ। बसन्तपञ्चमी (सरस्वती पूजा) को अवसरमा शैक्षिक सत्र सुरु भएको जस्तो गरी अक्षरारम्भ, अन्य कक्षामा भर्ना, सिट बुकिङ, छुटको प्रलोभन देखाएर घरदैलो अभियान सञ्चालन गर्न नपाइने स्पष्ट गरिएको छ। निर्देशन उल्लङ्घन गरे प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

पछिल्लो समय कतिपय संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरू घर–घरमै पुगेर “हाम्रो स्कुल मात्रै राम्रो”, “फ्री छ, आजै भर्ना गरिहाल्नुस्” भन्दै अन्य विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरेर भर्ना गराउन खोजेको गुनासो बढेपछि पालिकाहरूले कडाइ गरेका हुन्।

सामाजिक संजाल समेत प्रयोग गरि यस्ता नराम्रा गतिविधि अगाडी बढाईनुले शिक्षा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा र शैक्षिक विकृति निम्त्याएको सरोकारवालाहरूको भनाइ छ।
महत्वपूर्ण रूपमा, पालिकाबाट जारी गरिएको सूचना प्याब्सन र एन–प्याब्सनका प्रतिनिधिहरूसँग छलफल तथा सहमतिपछि जारी गरिएको हो। संस्थागत विद्यालयका प्रतिनिधि संस्थाहरूले पालिकाको निर्णय कार्यान्वयनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
सरोकारवालाहरूले प्रश्न उठाएका छन्— शैक्षिक सत्र सुरु नहुँदै घरदैलोमा पुगेर नियम मिच्दै “हाम्रो स्कुल मात्रै राम्रो” भन्ने विद्यालयले बालबालिकालाई कस्तो संस्कार र मूल्य शिक्षा दिन सक्छ? नीति–नियमको जानकारी नहुने वा बेवास्ता गर्ने विद्यालयबाट गुणस्तरीय शिक्षा अपेक्षा गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा अभिभावकहरूले आफै गम्भीर रूपमा सोच्न जरुरी रहेको उनीहरूको भनाइ छ।
यसर्थ, पालिकाहरूले अभिभावकहरूलाई प्रलोभनमा नपर्न, नियमअनुसार मात्र भर्ना प्रक्रिया अपनाउन र शिक्षा क्षेत्रलाई मर्यादित, अनुशासित र विश्वासयोग्य बनाउने साझा जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्।

























