विषेश समाचार/ जलबराह मिडिया ।
दाङ, असोज- २८ । हिन्दूहरूको महान् चाड बडादशैँको रौनकले देशैभरि उल्लास छाइरहेका बेला ग्रामीण भेगका किसानहरूलाई भने चाडपर्व मनाउनेभन्दा पनि पाकेको बाली भित्र्याउने सास्तीले सताएको छ।
वर्षभरि खाने मेलो र मुख्य आम्दानीको स्रोत मानिने धान खेतमा पाकेर पहेँलै भएपछि किसानहरू चाडबाडको खुसी छाडेर खेतबारी र आँगनमा पसिना बगाउन बाध्य भएका छन्। एकातिर मौसमको भर नहुनु र अर्कोतिर भित्र्याउन ढिला भए बाली बिग्रिने डरले किसानहरूलाई दशैँको रमझमभन्दा पनि धान काट्ने, ओसार्ने र दाइँ हाल्ने चटारोले छोपेको छ।
तस्बिरमा देखिए अनुसार, आँगनभरि सुकाइएको धान र धानका भारी बोकेर ओसारपसार गरिरहेका किसानहरूको दृश्यले उनीहरूको बाध्यता र निरन्तरको मिहिनेतलाई प्रस्ट पार्छ। परिवारका सबै सदस्यहरू एकजुट भई कोही धान झाँट्ने, कोही कुचोले धान सोहर्ने त कोही भारी बोक्ने काममा व्यस्त देखिन्छन्।

” सत्य सूचना , स्वच्छ प्रवाह र न्यायको आवाज “।
– जलबराह मिडिया डटकम ।

























