शिवराज नगरपालिका । शिवराज नगर क्षेत्रभित्र सञ्चालित विद्यालय बसहरूमा स्थानीय ट्राफिक प्रहरीले अनुगमन तथा जाँच (चेकिङ) कार्यलाई तीव्रता दिएको छ। त्यसक्रममा तोकिएको यात्रु क्षमताभन्दा निकै बढी विद्यार्थी बोकेर गुडिरहेको एक विद्यालय बसलाई प्रहरीले बीच बाटोमै रोकेर नियन्त्रणमा लिई कारबाही अगाडि बढाएको छ।
हालै पोखरामा भएको दुखद विद्यालय बस दुर्घटनाले बालबालिकाको यात्रा सुरक्षामा गम्भीर प्रश्न खडा गरिदिएको छ। उक्त दुर्घटनाबाट पाठ सिक्दै शिवराज नगरभित्रका विद्यालयहरूलाई आफ्ना बसमा क्षमताभन्दा बढी विद्यार्थी नराख्न र बालबालिकाको यात्रा सुरक्षित बनाउन प्रहरीले सख्त निर्देशन दिएको छ।
यतिबेलादेखि धेरैजसो निजी तथा संस्थागत विद्यालयहरूले नियमित पठनपाठनबाहेक ‘ट्युसन/कोचिङ कक्षा’ को नाममा बिहानै टाढा-टाढाका बस्तीहरूबाट बालबालिका ओसार्न सुरु गर्दछन । बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने हुनाले सडकको दृश्यता (Visibility) निकै कम हुने गर्छ।
यसरी एकातिर बिहानको जोखिमपूर्ण मौसम र अर्कातिर क्षमताभन्दा बढी विद्यार्थी कोचिएर तीव्र गतिमा बस चलाउने गर्नाले जुनसुकै बेला ठूलो दुर्घटना निम्तिने खतरा बढेको छ।
यसैबीच विद्यार्थीहरूको जीउधनको सुरक्षालाई प्राथमिकतामा राख्दै ट्राफिक प्रहरीले शिवराज नगरभित्रका सम्पूर्ण विद्यालय प्रशासन, बस चालक तथा अभिभावकहरूलाई सचेत गराएको छ।
प्रहरीले भनेको छ— “बालबालिकाको जीवनसँग खेलवाड गरी जोखिमपूर्ण यात्रा नगराऔँ। बिहानको समयमा कुहिरो र हुस्सुको ख्याल गर्दै गति सीमित गरौँ र क्षमताभन्दा बढी विद्यार्थी बोकेर बस नचलाऔँ।” नियम विपरीत सवारी चलाउने र सुरक्षामा बेवास्ता गर्ने विद्यालय तथा बस चालकमाथि आगामी दिनमा अझ कडा कारबाही गरिने प्रहरीले जनाएको छ

























