सुनसरी, असोज २८। सुनसरीको देवानगंज गाउँपालिकामा प्रहरीले छुट्टाछुट्टै दुई स्थानबाट ५७ किलोग्राम लागू औषध गाँजा र एक थान भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज २७ गते राति इलाका प्रहरी कार्यालय देवानगंज र मातहतका प्रहरी टोलीले गरेको विशेष चेकिङका क्रममा उक्त परिणामको गाँजा बरामद भएको हो।
मेहता टोलबाट ५१ किलो गाँजा र भारतीय मोटरसाइकल नियन्त्रणमा
प्रहरीका अनुसार असोज २७ गते राति २०:३० बजे देवानगंज गाउँपालिका वडा नं. ०४ मेहता टोलमा नेपालबाट भारततर्फ जाँदै गरेको BR 50 AH 1913 नम्बरको मोटरसाइकललाई चेकिङ टोलीले रोक्न खोजेको थियो। प्रहरीलाई देख्नासाथ चालक मोटरसाइकल छाडेर फरार भएका थिए। तत्पश्चात् प्रहरीले उक्त मोटरसाइकल जाँच गर्दा कालो प्लाष्टिकले बेरिएको ५१ किलोग्राम गाँजा फेला पारेको हो।
साहेबगंज सडकबाट ६ किलो गाँजा बरामद
त्यस्तै, सोही दिन राति २०:४५ बजे नै देवानगंज गाउँपालिका वडा नं. ०६ रासी साहेबगंज जाने भित्री सडक खण्डमा नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई देखेपछि पहेँलो रङको झोला फालेर फरार भएका थिए। प्रहरीले उक्त झोला नियन्त्रणमा लिई जाँच गर्दा ६ किलोग्राम गाँजा फेला परेको जनाएको छ।
थप अनुसन्धान र खोजी कार्य जारी
बरामद गरिएको गाँजा र मोटरसाइकल हाल इलाका प्रहरी कार्यालय देवानगंजमा राखिएको छ। घटना, संलग्न व्यक्तिहरू तथा फरार चालकहरूको खोजी र थप अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिएका छन्।


























