काठमाडौं । दिदीबहिनी र दाजुभाइबीचको अगाध प्रेम, स्नेह र आत्मीयताको प्रतीक मानिने भाइटीका भोलि (कात्तिक २५ गते, बुधबार) देशभर हर्षोल्लासका साथ मनाइँदै छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे रहेको छ।
भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै अष्टचिरञ्जीवीको पूजा गरी सप्तरङ्गी टीका र मखमली, सयपत्री तथा गोदावरीको माला लगाइदिने परम्परा छ।
टीका पछि दिदीबहिनीले दाजुभाइलाई कटुस, ओखर, मसला र मीठा परिकार दिनेछन् भने दाजुभाइले दिदीबहिनीलाई दक्षिणा तथा उपहार प्रदान गरी ढोगेर आशीर्वाद लिनेछन्।

























