जलबराह मिडिया -दाङ । दिवङ्गत पितृहरूप्रति श्रद्धा, भक्ति र तर्पण अर्पण गरिने १६ दिनको आश्विन कृष्ण पक्ष अर्थात् सोह्र श्राद्ध २०८३ (पितृ पक्ष) आज महालया औँसीका दिन विधिवत् रूपमा समाप्त भएको छ। आज पितृहरूलाई अन्तिम पिण्डदान र तर्पण गरी बिदाइ गरिएको छ।
सोह्र श्राद्धको समापनसँगै भोलि (आश्विन शुक्ल प्रतिपदा) देखि नेपालीहरूको महान् राष्ट्रिय पर्व बडादसैँ औपचारिक रूपमा सुरु हुँदैछ।

दसैँको पहिलो दिन भोलि बिहानै घर-घरमा तथा देशका विभिन्न शक्तिपीठहरूमा विधिपूर्वक घटस्थापना गरिन्छ। शास्त्रोक्त विधिअनुसार घडा स्थापना गरी जौ, गहुँ वा मकैको जमरा राखिने परम्परा छ। घटस्थापनासँगै नौ दिनसम्म चल्ने नवरात्र पर्व र नवदुर्गा भवानीको विशेष पूजा-आराधना सुरु हुनेछ।
पितृ पक्षको बिदाइ र घटस्थापनाको आगमनसँगै देशभर दसैँको रौनक छाएको छ भने बजारमा किनमेल गर्नेहरूको चहलपहल र घर फर्कने यात्रुहरूको भीड बढेको छ।
जलबराह मिडियाको तर्फबाट सम्पुर्ण पाठक महानुभावहरुमा बडादशैको हार्दिक मङ्गलमय शुभकामना !


























