असोज-२३ । चार करोड रुपैयाँको बैंकिङ कसूर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६३ वर्षीय दीपक चन्द्र न्यौपाने पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को टोलीले न्यौपानेलाई असोज २२ गते भक्तपुर नगरपालिका वडा नं. १, सृजनाटोलबाट नियन्त्रणमा लिएको हो।
झापा जिल्ला अदालतको २०८१ वैशाख ७ गतेको फैसलाले न्यौपानेलाई रु. ४ करोड बिगो, सोही बराबरको जरिवाना र १५ दिन कैदको सजाय सुनाएको थियो। राधा पाण्डेको जाहेरीमा नेपाल सरकार वादी रहेको (मुद्दा नं. ०८०-८१-०११२) उक्त मामलामा सजाय तोकिएपछि उनी फरार रहँदै आएका थिए।
भक्तपुरको साविक झोखेल गा.वि.स. वडा नं. ३ (हाल चाँगुनारायण नगरपालिका वडा नं. ३) निवासी हरि बहादुर न्यौपानेका छोरा न्यौपाने काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए।
विशेष सूचनाका आधारमा CIB बाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरेको CIB का प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा.ले जानकारी दिएका छन्।


























