राप्ती/ सिसहनियाँ , असोज-२० । स्कुल जाने बालबालिकाका लागि झोला केवल किताब–कापी बोक्ने साधन मात्र नभई उनीहरूको शैक्षिक यात्राको एउटा महत्त्वपूर्ण सपना पनि हो। तर, आर्थिक अभावका कारण धेरै बालबालिका आफ्नै झोला बोकेर विद्यालय जाने सामान्य चाहनाबाट पनि बञ्चित हुनुपरिरहेको छ।
यस्तै परिस्थिति झेलिरहेका राप्ती गाउँपालिका–५ पहरूवा स्थित बाल कल्याण आधारभूत विद्यालयका २४ जना बालबालिकाको अनुहारमा मंगलबार भने खुसी छायो। कक्षा १ देखि ३ सम्म अध्ययनरत गरिब तथा विपन्न विद्यार्थीहरूले नयाँ स्कुल झोला पाएपछि उनीहरूको विद्यालय यात्रा थप सहज बनेको छ।
राप्ती गाउँपालिका–१ भालुवाङ निवासी एवम् हाल दक्षिण कोरियामा कार्यरत करण शर्माले पठाएको आर्थिक सहयोगमा ‘आशाका किरण’ संस्थाले ती बालबालिकालाई स्कुल झोला उपलब्ध गराएको हो। नयाँ झोला हातमा परेपछि खुसी भएका बालबालिका कसैले काँधमा भिरेर त कसैले साथीहरूलाई देखाएर आफ्ना उत्साह साटिरहेका थिए। सानो सहयोग भए पनि यसले बालबालिकाको पढाइप्रतिको लगाव र उत्साहमा ठूलो टेवा पुर्याएको छ।
संस्थाका संस्थापक अध्यक्ष सुर्यकिरण केसीको अध्यक्षता एवम् विद्यालयका प्रधानाध्यापक अनुपम योगीको प्रमुख आतिथ्यतामा झोला वितरण कार्यक्रम सम्पन्न भएको थियो। संस्थाका महासचिव लोकमणी भुसालको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन प्रेस संयोजक ओमप्रकाश गुप्ताले गर्नुभएको थियो।

























