काठमाडौं । आश्विन कृष्ण प्रतिपदाका दिन आज असोज ११ गतेदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष विधिवत् रूपमा आरम्भ भएको छ। सनातन धर्मावलम्बीहरूले आफ्ना दिवङ्गत पितृहरूप्रति श्रद्धा प्रकट गर्दै तर्पण, सिदादान तथा पिण्डदान गरेर पितृ पक्ष मनाउन सुरु गरेका हुन्।

यस वर्षको पितृ पक्ष आज (असोज ११ गते) देखि सुरु भई आश्विन कृष्ण औँसी (असोज २४ गते) सम्म रहनेछ।
धर्मशास्त्र अनुसार वर्षमा गरिने एकोद्दिष्ट श्राद्धका अतिरिक्त सोह्र श्राद्धमा आफ्ना तीन पुस्ताभित्रका पितृहरूको स्मरण गर्दै पिण्डदान गर्ने परम्परा छ। पितृ पक्षमा गरिएको तर्पण र श्राद्धले पितृहरू तृप्त भई परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार सोह्र श्राद्धका कार्यहरू अपराह्न काल (दिउँसो) मा गर्नु शास्त्रसम्मत मानिन्छ। काठमाडौँको पशुपतिनाथ, गोकर्णेश्वर, चितवनको देवघाट, मुक्तिनाथ लगायतका देशभरका प्रसिद्ध धार्मिक तीर्थस्थल एवं नदी किनारमा आज बिहानैदेखि श्राद्ध र तर्पण गर्ने श्रद्धालुहरूको घुइँचो लागेको छ।
पितृ पक्ष समापन भएलगत्तै असोज २५ गते घर-घरमा घटस्थापना गरी बडादसैँको औपचारिक आरम्भ हुनेछ।
“सत्य सूचना , स्वच्छ प्रवाह र न्यायको आवाज”- जलबराह मिडिया डटकम।

























