सम्पादकीय✍️……..
दाङ । निर्वाचनको सरगर्मी बढेसँगै नेपाली राजनीतिको मञ्चमा एउटा शब्द सबैभन्दा बढी घन्किन थाल्ने गर्दछ—‘अवसरवादी’।
एउटा दल छाडेर अर्कोमा प्रवेश गर्ने नेता/कार्यकर्ता ,अन्तिम समयमा फेरिने गठबन्धन र शक्ति सन्तुलनका लागि गरिने सम्झौताहरूलाई निशाना बनाउन यो शब्दलाई प्रमुख अस्त्रका रूपमा प्रयोग गरेको पाईन्छ ।
विरोधीलाई ‘अवसरवादी’ को बिल्ला भिराएर आफूलाई निष्ठा र आदर्शको प्राय: प्रस्तुत गर्ने होडबाजी नै चल्ने गर्छ। तर, निर्वाचनको मुखमा प्रयोग हुने यो शब्द केवल राजनीतिक आरोप-प्रत्यारोपमै सीमित छ कि यसको दोस्रो पाटो पनि छ? यो प्रश्नको वस्तुनिष्ठ उत्तर खोज्नु आजको आवश्यकता बनेको छ।
वैचारिक निष्ठा कि जडताको बन्दी?
परम्परागत दृष्टिकोणबाट हेर्दा राजनीतिमा अवसरवादलाई वैचारिक विचलन, निष्ठाहीनता र व्यक्तिगत स्वार्थको पराकाष्ठा मानिन्छ। सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर केवल सत्ता र पदका लागि कित्ताकाट गर्नु निश्चय नै जनभावना विपरीतको कार्य हो। तर, अर्को पाटोबाट हेर्दा राजनीति केवल जडता र पुराना अडानको बन्दी मात्र हुन सक्दैन। द्रुत गतिमा बदलिँदो समाजमा नागरिकका आवश्यकता र राजनीतिक परिस्थितिहरू पनि निरन्तर परिवर्तन भइरहेका हुन्छन्। यस्तो अवस्थामा असान्दर्भिक भइसकेको विचार वा कार्यशैलीमा टाँसिएर बस्नुभन्दा नयाँ सम्भावना र अवसरहरूको खोजी गर्नुलाई व्यावहारिक राजनीति र दूरदर्शिताका रूपमा पनि व्याख्या गर्न सकिन्छ।
परिणाममुखी राजनीती र चतुरता
परिणाममुखी राजनीतिमा सिद्धान्तको नाममा देश वा जनतालाई बन्धक बनाउनु भन्दा, सत्ता वा व्यवस्थाभित्र छिरेर जनताका मुद्दा सम्बोधन गर्ने बाटो खोज्नु नै राजनीतिक चतुरता हो। अक्सर जसले राजनीतिक समयको पदचाप पछ्याउन सक्दैनन् वा नयाँ सम्भावनाहरू चिन्न असमर्थ हुन्छन्, उनीहरूले नै अघि बढ्नेहरूलाई ‘अवसरवादी’ को संज्ञा दिएर आफ्नो असक्षमता ढाक्ने प्रयास गर्छन्।
यदि कुनै निर्णयले समाजलाई रूपान्तरण र विकासतर्फ लैजान्छ भने, त्यसलाई केवल ‘अवसरवाद’ भनेर नकारात्मक बनाउनु एकाङ्गी दृष्टिकोण मात्र हुन्छ।
निष्पक्ष प्रेस र मतदाताको विवेक
यद्यपि, सकारात्मक अवसरवाद र नाङ्गो राजनीतिक स्वार्थबीचको रेखा निकै मसिनो हुन्छ। यही मसिनो रेखालाई छुट्याएर नागरिकसामु सत्यतथ्य ल्याउनु आजको निष्पक्ष पत्रकारिताको असली परीक्षा हो। राजनीतिमा देखिएको कित्ताकाट देश र जनताको हितका लागि हो वा केवल व्यक्तिगत लाभका लागि? यो प्रश्नको उत्तर खोज्न सम्पादकीय कक्ष कुनै पनि राजनीतिक वा आर्थिक स्वार्थबाट पूर्णतः मुक्त हुनुपर्छ।
निर्वाचन नजिकिँदै गर्दा मतदाताहरूलाई आरोपको बहकाउमा नलागी विवेकपूर्ण निर्णय लिन उत्प्रेरित गर्नु सञ्चार जगतको दायित्व हो। नेताहरूले लिएको नयाँ बाटो वा निर्णयले समाजलाई के दियो, विकासका नयाँ ढोकाहरू खोल्यो कि खोलेन ? र त्यो निर्णय सार्वजनिक हितमा छ कि छैन भन्ने कुरा नै मूल्याङ्कनको मुख्य कसी हुनुपर्छ। राजनीतिमा नारा र गाली होइन, परिणाम र सुशासन मुख्य विषय हो। दलहरूको आरोप-प्रत्यारोपभन्दा माथि उठेर नागरिकलाई सही, निष्पक्ष र विश्लेषणात्मक दिशा निर्देश गर्नु नै आजको आवश्यकता हो।
“सत्य सूचना , स्वच्छ प्रवाह र न्यायको आवाज”- जलबराह मिडिया डटकम ।

























