दाङ/ राजपुर, भाद्र -१७। राजपुर गाउँपालिका–५, सालभौरीस्थित साधारण माध्यमिक विद्यालय गंगदीका कक्षा ५ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजाखर्च कटाएर भोटेकोशी बाढीपीडितका लागि रु. १३ हजार २८५ सहयोग गरेका छन्।
विद्यार्थीहरूले आफूले सकेको रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहतस्वरूप उक्त रकम जम्मा गरेका हुन्।
विद्यार्थीहरूले संकलन गरेको रकम मोबाइल कन्भर्जेन्टमार्फत कोषको खातामा जम्मा गरिएको भुक्तानी रसिदमा उल्लेख छ।
विपद्का कारण पीडित बनेका नागरिकप्रति सहयोग र सद्भाव प्रकट गर्दै विद्यार्थीहरूले आफ्नो दैनिक खाजाखर्चसमेत कटाएर राहत रकम जुटाएका हुन्। विद्यार्थीहरूको यस कार्यले मानवीय भावना, सामाजिक उत्तरदायित्व र सहयोगी संस्कारको सकारात्मक सन्देश दिएको छ।
विद्यालयका विद्यार्थीहरूले गरेको यो सहयोगले विपद्का बेला सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने सन्देशसमेत दिएको छ।

























