काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया पठाइदिने भन्दै रकम ठगी गर्ने ‘न्यू सफल ग्लोबल कन्सल्टेन्सी’का सञ्चालकलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं. ११ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका वडा नं. २६ सामाखुसी बस्ने २८ वर्षीय गणेश पाण्डे रहेका छन्।
घटना विवरण:
आफ्नो छोरालाई कोरिया पठाउने भन्दै रकम लिएर विगत २ वर्षदेखि अलपत्र पारेको भन्दै एक पीडित महिलाले सामाजिक सञ्जाल टिकटक मार्फत सम्माननीय प्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष कारबाहीको माग गर्दै भिडियो सार्वजनिक गरेकी थिइन्।
सोही भिडियो र प्राप्त गुनासोका आधारमा अनुसन्धान सुरु गरेको प्रहरी टोलीले पाण्डेलाई २०८३ असोज २० गते काठमाडौँको रानीबारी चोकबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका पाण्डेमाथि ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।


























