
दाङ घोराही । रोल्पाली सेवा समाज साउदी शाखाका प्रमुख सल्लाहकार रमेश बुढाले आफ्नो कमाइको केही प्रतिशत सहयोग र उद्धारमा लगाएको बताउनुभएको छ ।
रोल्पाली सेवा समाज दाङ शाखाले सोमबार घोराहीमा आयोजना गरेको भेटघाट तथा दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले प्रवासमा गरेको सहयोगका बारेमा जानकारी गराउनुभएको हो । ‘आफ्नो कमाइको केही प्रतिशत खर्च गरेर पीडितको उद्धारमा लगाउँछौं’– बुढाले भन्नुभयो– ‘कसको पैसाले हिड्छौ, कहाँबाट आउँछ र खर्च गर्छौ भनेर धेरैले सोध्छन् ।’ वैदेशिक रोजगारमा जान लागेको २० वर्षभयो । यो अवधिसम्म अनेकखाले समस्या परेका भेटिएका छन् । समाजले धेरैका समस्या समाधान गरेर घर पठाएको उहाँले बताउनुभयो । कोही नेपाली सात आठ वर्ष भन्दा अघिदेखि परिवारसँग सम्पर्क विच्छेद गरी बरालिएका भेटिने भन्दै उहाँले त्यस्ता व्यक्तिलाई परिवारसँग मिलन गराइदिन शाखाले पहल गर्दै आएको बताउनुभयो ।

यसैगरी मलेसिया शाखा उपाध्यक्ष कमल महरा क्षेत्रीले निःस्वार्थ समाज सेवा गरिरहेको बताउनुभयो । विरामीलाई उपचार खर्च, अलपत्र परेकालाई घरमा मिलन र मृत्यु भए शवलाई नेपाल फर्काउने काम रोल्पाली समाजले गरिरहेको र त्यसका लागि समाजसँग कुनै कोष नहुने स्पष्ट पार्नुभयो । समाजले गरेका कामको जति नै चर्चा गरे पनि कमै हुने एनआरएनए युएइका पूर्व क्षेत्रीय पूर्वअध्यक्ष विष्णुदेव शाहको भनाइ थियो । ‘समाजले गरेको योगदान, पीडितले पाएको राहत र न्यायको सन्दर्भ जति प्रशंसा गरे पनि थोरै हुन्छ’– उहाँले भन्नुभयो– ‘रुँदै कराउँदै फोन गर्छन् । कुटपिट र मानसिक हिंसा सहन नसकेर तड्पिरहेका हुन्छन् । तिनले लुकेर फोन गर्छन् । उनीहरुको काम गर्ने ठाउँ पत्ता लगाउनै कठिन पर्छ ।’

कम्पनी छोडेर भागेकाहरुले लुकेर काम गर्ने क्रममा पक्राउ पर्दा पनि समाजले सहयोग गर्ने अवस्था रहेको शाहले बताउनुभयो । ‘ब्लडमनी तिर्न नसकेकालाई चन्दा उठाएर धरौटी जम्मा गर्नुपर्छ । नेपालमा समस्या परेकालाई पनि रकम संकलन गरेर पठाइन्छ’– शाहले भन्नुभयो– ‘त्यो रकम एक रुपैयाँ तलमाथि नगरी पीडितलाई हस्तान्तरण गरिदिनुभएकोमा धेरै धेरै धन्यवाद ।’ यसैगरी युरोप शाखा संयोजक गणेश खत्रीले थप सक्रिय हुन जरुरी रहेको बताउनुभयो । उहाँले नेपाल आएको बेलामा पाएको सम्मानले आफूहरुलाई ऊर्जा मिलेको बताउनुभयो । यसैगरी युएई शाखा सचिव टीकाराम पुनलगायतले आफूले गरेका कामको जानकारी गराउनुभएको थियो । नेपाल आएको बेलामा शाखाले सम्मान गरेर हौसला प्रदान गरेको बताउनुभयो । Nayayughbodh

























