मंसिर २६, तुलसीपुर । दाङको तुलसीपुरमा रहेका राप्ती प्रादेशिक अस्पतालको अवस्था सुधार हुँदै गएको पाइएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयबाट आएको अस्पताल अनुगमन मुल्यांकनको टोलीले मंगलबार गरेको अनुगमनका क्रममा राप्ती प्रादेशिक अस्पतालको अवस्था सुधार हुदै गएको देखिएको हो । गत बर्षको मुल्यांकनमा अस्पतालको प्रगती ८५ प्रतिशत रहेकोमा अहिले ३ प्रतिशत बढेर ८८ प्रतिशत पुगेको अनुगमन टोलीले जानकारी दिएको छ । न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पताल अनुगमन मुल्यांकन तथा समिक्षा कार्यक्रममा अनुगमनका क्रममा देखिएका समस्याहरु र अस्पतालले हासिल गरेको प्रगती विवरण सार्वजनिक गरेको हो । अनुगमनमा देखिएको कुरालाई जस्ताको त्यस्तै सार्वजनिक गदै अनुगमन टोलीकी दुर्गा श्रेष्ठले अस्पतालले विगतको तुलनामा प्रगती गर्दै गएपनि अझै सुधार गर्नुपर्ने कुराहरु पनि रहेको बताउनुभयो । सामान्य कुरामा ध्यान दिदा ठुलो उपलब्धी हासील गर्न सकिने भन्दै उहाँले अस्पताले यसमा विशेष जोड दिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
सो अवसरमा राप्ति प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. पदमराज अधिकारीले अस्पतालको समग्र अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । २०३३ सालमा स्थापना भएको उक्त अस्पताल २०६५ सालमा राप्ती अञ्चल अस्पताल भएको र त्यसपछी विकास हुदै २०७५ सालमा आएर राप्ती प्रादेशिक अस्पतालमा परिणत भएको बताउनुभयो । ५० बेडको अस्पतालले १ सय ४१ बेडको सेवा सुविधा दिइरहेको भन्दै उहाँले अस्पतालले सकेसम्म सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउदै लैजाने कोशिस गरिहेको बताउनुभयो । ७४ जनाको दरबन्दी रहेको अस्पतालमा ६४ जना मात्रै जनशक्ति रहेको भन्दै उहाँले अन्य २१५ जना छात्रबृति करार जनशक्तिबाट सेवा दिइरहेको बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको अस्पताल अनुगमन मुल्यांकन तथा समिक्षा कार्यक्रमको सहजीकरण अस्पतालका कृष्ण गोपाल चौधरीले गर्नुभएको थियो ।