जेष्ठ -२५, राजपुर । भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले दाङको राजपुर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिर छन् । उनले भारतीय नागरिक आलम जोल्हा आफ्नो वडाका स्थानीय भएको भन्दै नक्कली सिफारिस दिएर नागरिकता दिलाउन मद्दत गरेको प्रहरीको आरोप छ । सो प्रकरणमा वडाध्यक्ष अहिरसहित चार जनालाई इलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको हो ।
अध्यक्ष अहिर सहित पक्राउ पर्ने अन्यमा भारतीय नागरिक ४४ वर्षीय आलम जोल्हा, राजपुर गाउँपालिका वडा नम्बर ४ का वडासचिव राजकुमार कहार, कार्यालय सहयोगी मिना चौधरी रहेको प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए ।
पक्राउ परेका चारैजनालाई नागरिकता सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक बमले बताए ।
यस प्रकरणमा इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुख प्रेम खवास समेतको हस्ताक्षर रहेको हुँदा उनी पनि अनुसन्धानको दायरामा तानिएका छन् । – स्रोत :अनलाईन खबर।

























