गुल्मी, शान्तिपुर । भानु सेकेन्डरी इङलिस बोर्डिङ स्कूल (चन्द्रकोट-३, हर्राचौर-शान्तिपुर, गुल्मी) मा दुई दिने विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वस्थ विकास तथा उज्ज्वल भविष्य सुनिश्चित गर्ने उद्देश्यका साथ मिति २०८३ असोज २८ र २९ गते उक्त कार्यक्रम आयोजना गरिएको हो।
स्वास्थ्य परीक्षण कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए।

दन्त, आँखा तथा BMI परीक्षण

कार्यक्रम अवधिभर विशेषज्ञ टोलीद्वारा विद्यार्थीहरूको दाँत तथा आँखाको स्वास्थ्य अवस्था परीक्षण गरिनुका साथै उनीहरूको BMI (बडी मास इन्डेक्स) मापन गरिएको थियो। यसका साथै साना बालबालिकाहरूमा सरसफाइ र दाँत माझ्ने बानीको विकास गराउन नर्सरीदेखि यू.के.जी. सम्मका विद्यार्थीहरूलाई निःशुल्क रूपमा टुथपेस्ट तथा टुथब्रस समेत वितरण गरिएको थियो।

अभिभावक सचेतना तथा अभिमुखीकरण
कार्यक्रमकै अवसरमा नर्सरीदेखि यू.के.जी. सम्मका विद्यार्थीका अभिभावकहरूलाई लक्षित गरी बाल स्वास्थ्यसम्बन्धी सचेतना अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। बालबालिकाको प्रारम्भिक उमेरमा स्वास्थ्य र पोषणको महत्त्वबारे अभिभावकहरूलाई विस्तृत जानकारी गराइएको थियो।
विद्यार्थीहरूमा देखिन सक्ने सम्भावित दन्त तथा आँखासम्बन्धी स्वास्थ्य समस्याहरूको समयमै पहिचान गरी उचित उपचार र सुरक्षात्मक कदम चाल्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको विद्यालयले जनाएको छ। साथै, विद्यालयले निश्चित समयको अन्तरालमा विद्यार्थीहरूको स्वास्थ्य स्थितिको मोनिटरिङ गर्ने र अभिलेख (Record) व्यवस्थित राख्ने योजना बनाएको छ।
सहकार्य र धन्यवाद ज्ञापन
उक्त कार्यक्रम एम.डी. डेन्टल एण्ड ओरल केयर प्रा. लि. तथा शान्तिपुर आँखा उपचार केन्द्र (शान्तिपुर, चन्द्रकोट-४, गुल्मी) को प्राविधिक सहकार्यमा सञ्चालन गरिएको थियो।

कार्यक्रमलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन योगदान पुर्याउनुहुने दन्त चिकित्सक डा. एम.डी. मेराज आलम, आँखा विशेषज्ञ सुदीप पौडेल, दन्त चिकित्सकद्वय माने कुमार र मनिषा ज्ञवालीलाई विद्यालय परिवारले विशेष धन्यवाद व्यक्त गरेको छ।


साथै, कार्यक्रम सफल पार्न अहोरात्र खट्नुहुने शिक्षिका दिलमाया सुनार, स्नेहा पुन, शिक्षकहरू विकास क्षेत्री, गौसे आजम, अन्य सम्पूर्ण सक्रिय शिक्षक-शिक्षिकाज्यूहरू तथा कक्षा १० का विद्यार्थीहरूप्रति विद्यालय प्रशासनले हार्दिक आभार प्रकट गरेको छ।

























