दाङ देउखुरी । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द “विप्लव ” सीले समाजवादको खुल्ला बहसका निम्ति सबैलाई आव्हान गरेका छन् ।

नेकपा दाङद्वारा देउखुरीको राप्ती गापाको सभाहलमा आयोजना गरिएको सर्वपक्षीय अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले दलहरूले जनताको भावना समेट्न नसक्दा मुलुक अस्थिरता तर्फ धकेलिन सक्ने खतरा बढेको बताए ।
अस्थायी र अस्थिर रङ्गमञ्चको राजनीतिले मुलुक नफेरिने बताउदै विप्लवले नेपाली राजनीति अस्थिरता तर्फ धकेल्न अन्तर्राष्ट्रिय प्रयास बढ्दै गएको समेत बताए। ‘संकटग्रस्त नेपालले खोजिरहेको निकास ,नयाँ नीति र नेतृत्व ’बिषयक सर्वपक्षीय भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै विप्लवले जनतालाई परिवर्तनको आभास दिन नसकेर दलहरूविच आपसी मतभेद र विवाद बढाउदै लगिएको बताए ।
त्यस्तै राज्य संयन्त्र कमजोर बन्दै जादा जनताका आधारभूत समस्या समेत हल गर्न नसकेको बताउदै विप्लवले राज्यले कानुन र विधिका नाममा जनतालाई अनावश्यक हैरानी थोपर्ने काम गरेको समेत बताए । जनतामा निराशा र नकारात्मकता बाड्दै लैजाने काम चर्किएको बताउदै उनलेे विकल्प सहितको समाधान समाजवाद भएको टिप्पणी गरेका छन् । नयाँ पुस्तामा राष्ट्र र परिवारप्रति गम्भीर र जिम्मेवार बन्दै सामाजिक र राजनीतिक रुपान्तरणमा लाग्न समेत अनुरोध गरे ।

विप्लवले जनपक्षीय र प्रगतिशील व्यवस्थाको विकल्प राजतन्त्र नहुने दाबी गर्दै कतिपयले राजनीतिक चेत गुमाएर अनावश्यक लहडमा लागेको भन्दै विप्लवले आफ्नो योगदान र त्यागले प्राप्त उपलब्धिलाई बदनाम हुन नदिनुका साथै समयसापेक्ष परिवर्तन गर्दै लैजानु पर्नेमा जोड दिए ।
विप्लवले राज्य मुठ्ठीभरका दलाल पुजिपति वर्गको भएको भन्दै हालको राज्य व्यवस्थाले किसान मजदुरको प्रतिनिधित्व गर्न नसक्ने ठोकुवा गरे । हालको सत्ताले किसान, सुकुम्बासी, जनजाति, महिला,बिधार्थीहरुको अधिकार सुनिश्चित गर्न नसक्ने भन्दै यसको विकल्प वैज्ञानिक समाजवाद भएको बताए ।
विप्लवले दलाल सत्ता नै भ्रष्टाचारको केन्द्र भएको दाबी समेत गरेका छन् । विप्लवले वर्तमान संङकटको समाधान समाजवाद भएको भन्दै लोकतान्त्रिक र बामपंथी सबै शक्तिहरु समाजवादका पक्षमा लाग्नुपर्ने र खुला बहस चलाउनुपर्ने बताए । न्युनतम समाजवादी आधार तयार गर्नुपर्ने भन्दै विप्लवले सर्वपक्षीय छलफल मार्फत त्यो आधार तयार गर्नुपर्ने समेत बताए ।
नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारु , नेकपाका स्कुलिङ विभाग प्रमुख भेषराज सी , पार्टीका पिबिएम शितल सी लगाएत विभिन्न राजनीतिक दल , नागरिक समाज , मानवअधिकारकर्मी , बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।


पार्टीका केन्द्रीय सदस्य बिक्रमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले गरेका थिए । कार्यक्रममा उपस्थित बुद्धिजीवी,नागरिक समाजका अगुवाहरु, राजनीति दलको प्रतिनिधिहरुले आ – आफ्ना राखेका थिए । 





























