दाङ, असोज-२१ । निरन्तरको वर्षाले दाङ लगायतका खेतबारीमा पाक्न थालेका धानहरू भिजेर किसानहरू निराश बन्न थालेका छन्।
केही किसानले धान काट्न सुरु गरे पनि हाल मौसममा देखा परेको खराबी तथा समय समयामा परिरहेको पानीले खेतमै धान भिजेर नष्ट हुने खतराले किसानलाई थप चिन्तामा पारेको छ।

“धान त राम्रो भयो, तर समयमै काट्न नपाउँदा सबै माटोमै मिसिन्छ कि भन्ने डर लागिरहेको छ,” दाङ राजपुरका एक किसान बताउँछन् ।
किसानहरूले यस वर्ष बिउ रोप्नेदेखि मल झिक्ने र झारपात उखेल्ने काममा अहोरात्र पसिना बगाएका थिए। तर अहिलेको मौसममा देखा परिरहेको संकेतले महिनौंको मेहनत एकछिनमै नष्ट हुने चिन्ता उनमा छ।
सामान्यतया असोजको दोस्रो सातादेखि धान काट्ने सिजन सुरु हुने गर्दछ ।
कृषि प्राविधिकहरूका अनुसार भिजेको धान लामो समय खेतमा रहँदा दाना कुहिने, अंकुर आउने र गुणस्तर घट्ने जोखिम रहन्छ।
























