दाङ देउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिकामा बाल विकास केन्द्रका शिक्षकहरुको लागि क्षमता विकास तालिम सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित ६ दिने क्षमता विकास तालिमको शुक्रबार एक कार्यक्रम आयोजना गरी समापन गरिएको हो । राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर ओलीको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष विष्टले शिक्षा समाजको मूल आधार र शिक्षकहरु त्यसको मुख्य स्तम्भ भएको बताउनुभयो । शिक्षकहरुको ज्ञान, सीप र समर्पणले नै भावी पुस्तालाई उज्यालो बाटो देखाइरहेको उल्लेख गर्दै अध्यक्ष विष्टले आगामी दिनमा पनि शिक्षकहरुलाई परिवर्तित समय र प्रविधि अनुसार विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै जाने बताउनुभयो ।
बालबालिकाहरुको प्रारम्भिक शिक्षा नै बाल विकास केन्द्रबाट शुरुवात हुने बताउँदै अध्यक्ष विष्टले उनीहरुलाई किताबी ज्ञान सँगसँगै संस्कारिक, व्यावहारिक र जीवनोपयोगी शिक्षा दिनुपर्ने आवश्यकता आंैल्याउनुभयो । त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर ओलीले तालिम अवधिभर सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्न सहभागी शिक्षकहरूलाई आग्रह गर्नुभयो । तालिममा बाल विकास कक्षामा प्रयोग हुने शैक्षिक सामग्रीहरु निर्माण, शिक्षण विधि, बाल मनोविज्ञान, बालबालिकाको सिर्जनशीलता विकास र शैक्षिक सामग्रीको प्रभावकारी प्रयोगलगायतका विषयमा सहजीकरण गरिएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभयो ।
समापन कार्यक्रममा प्रशिक्षक कल्पना बेलवासे, सहभागी शिक्षिका सरिता भुसाललगायतले भनाइ राख्नुभएको थियो । गाउँपालिकाका सामुदायिक विद्यालय तथा समुदाय तहमा सञ्चालित बाल विकास केन्द्रका ३९ जना शिक्षकहरुको सहभागिता थियो भने समापन कार्यक्रमको सहजीकरण गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गर्नुभएको थियो ।
नयाँ युगबोध।