दाङ देउखुरी । देउखुरीको राप्ती गाउँपालिका -३, मसुरीयामा यही मंसिर १६ गते आइतवार कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको छ । मण्डला थिएटरले कलाको माध्यमबाट नागरिकलाई प्राकृतिक विपत्तिबाट सजग गर्न सकिने उपायबारेमा कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको हो ।
जलवायु परिवर्तन, बाढी पहिरो, आगलागी र भूकम्पजस्ता प्रकोपका नकारात्मक असरबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउने उपायबारे जानकारी दिंदै नाटक प्रदर्शन गरिएको छ । नाटक “लय प्रकृतिको“ प्राकृतिक विपत्तिसँग सम्बन्धित छ ।
नाटकमा मण्डलाका कलाकार सोमनाथ खनाल, प्रदिप चाैधरी,बल बहादुर राई,सागर खाती, मिलन कार्की, पिङ्की बाेहाेरा,मनी कुलुङ राई,अग्नी विश्वकर्मा,उमेश तामाङ,रिजन केसी, वेदना राईलगायत चर्चित कलाकारको अभिनय रहेको थियो । नाटकमा जथाभाभी गरिने डोजरे विकासको असर,वन जङ्गलमा गरिने आगजनी, मापदण्ड पूरा नगरी निर्माण गरिने संरचनाका कारण भूकम्पीय असर आदि विषय समेटिएको छ ।
नाटक सम्पन्न भएपछि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नाटकले यथार्थ चित्रण गरेको बताए । उनले यस्ता नाटकले समुदाय सचेत भई प्राकृतिक विपत्ति रोक्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीलगायत स्थानीयको उल्लेखीय उपस्थिति रहेको थियो । मण्डला थिएटरले विश्व बैंक, युके एड, क्यानडा, युएसआइडीको सहयोग तथा राप्ती गाउँपालिका दाङकाे सहजीकरणमा नाटक प्रदर्शन गरेकोे थियो ।
नाटक दाङ,इलाम,ताप्लेजुङ,बझाङ, जाजरकोट, पश्चिम रुकुम सहित देशका विभिन्न ८ जिल्लामा प्रदर्शन गरिने निर्देशक सोमनाथ खनालले जानकारी दिए । ताप्लेजुङबाट शुरु भएको नाटक प्रदर्शनी बझाङ पुगेर समापन गरिने बताइएको छ ।