दाङ । दाङ जिल्ला अदालतले सोमबारदेखि आकस्मिक सेवा सुरु गरेको छ। जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएप पश्चात् मर्मत भइरहेको कार्यालयले अहिले तारिक बुझ्ने, पक्राउ अनुमति जारी, मुद्दाको म्याद थप लगायतका आवश्यक सेवा दिन थालेको छ।
दाङ जिल्ला अदालतका श्रेष्तेदार भुपाल भण्डारीका अनुसार, कार्यालय मर्मतको क्रममा रहेकाले पूर्ण सेवा संचालनमा आउन सर्वर सञ्चालनमा आउनुपर्नेछ। उनले भने, “पूर्ण सेवा दिन समय लाग्ने भएपनि झ्याल, ढोका, टेबल, कुर्सी र दराज मर्मत गर्दै आकस्मिक सेवाहरू दिन सुरु गरेका छौं। पूर्ण सेवा दशैं–तिहारपछि उपलब्ध हुनेछ।”
जेन–जी आन्दोलनका क्रममा अदालतमा करिब ३७ वटा कम्प्युटर तोडफोड, आगलागी र चार लाख रुपैयाँ नगद चोरी भएको थियो। साथै, आगलागीबाट अदालतका दुई मोटरसाइकलमा पनि क्षति पुगेको थियो। यस घटनाले अदालतमा करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिइएको छ।
























