काठमाडौं । काठमाडौं विश्वविद्यालयले एनप्याब्सन(नेशनल प्याब्सन)लाई प्रि–स्कुल पाठ्यक्रम हस्तान्तरण गरेको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा विश्वविद्यालयका डिन प्रा.डा. बालचन्द्र लुईंटेलले पाठ्यक्रम नेशनल प्याब्सनकी केन्द्रिय अध्यक्ष गीता राणा क्षेत्रीलाई हस्तान्तरण गर्नुभएको हो ।
देशभर सञ्चालन भइरहेका प्रि–स्कुल शिक्षामा एकरूपता ल्याउने उद्देश्यसहित काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसन (केयूएसओइडी) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को सहकार्यमा तयार गरिएको प्रि–स्कुल पाठ्यक्रम नेशनल प्याब्सनलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।
यसैबीच कार्यक्रममा अध्यक्ष क्षेत्रीले देशभरका प्रि–स्कुलहरू आ–आफ्नै शैलीमा सञ्चालन हुँदै आएको बताउँदै अब साझा पाठ्यक्रमले शिक्षामा समानता ल्याउने बताइन।
शिक्षा सिकाइमा आधारित हुनुपर्ने र डिजिटल शिक्षाको दिशामा पनि अग्रसर हुन आवश्यक रहेको उनको भनाइ छ । उनले पाठ्यक्रम लिपिवद्ध भएपछि पाठ्यपुस्तक र सिलेबस निर्माणको कार्य थालिनेबारे जानकारी दिइन ।
काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. बालचन्द्र लुइँटेलले विश्वविद्यालयको मुख्य उद्देश्य ज्ञानमार्फत समाजमा योगदान पुर्याउनु रहेको उल्लेख गर्दै शिक्षा संस्थाहरूले केवल डिग्री वितरण गर्ने संस्थामा सीमित नहुने र सामाजिक रूपान्तरणको लागि प्रेरणादायी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे।
उत्पादन गर्ने ज्ञान प्रयोगयोग्य, सान्दर्भिक र समाजका जटिल चुनौतीहरू समाधान गर्न सक्षम हुनुपर्ने उनको भनाइ छ । विकसित गरिएको पाठ्यक्रमले प्रारम्भिक बालशिक्षामा गुणस्तरीय सुधार ल्याउने अपेक्षा उनको छ ।
उनले नेपालको शिक्षाले अब संकुचित पाठ्यपुस्तक र अंककेन्द्रित मूल्यांकन प्रणालीबाट बाहिर निस्केर सृजनशील, समावेशी र बालमैत्री सिकाइतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।
























