दाङ- कार्तिक ६, २०८२।
नेपालभर आज तिहार पर्वको पाँचौँ दिन भाइटीका हर्षोल्लासका साथ मनाइँदैछ। दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई श्रद्धा व्यक्त गरिरहेका छन्।
यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। दिदीबहिनीले टीका लगाउनुअघि लक्ष्मी, गणेश र यमराजको पूजा गरी दाजुभाइलाई टीका र माला लगाउने परम्परा रहिआएको छ।
दाजुभाइले पनि दिदीबहिनीप्रति कृतज्ञता व्यक्त गर्दै दक्षिणा, कपडा र उपहार अर्पण गर्छन्। भाइटीका दिदीबहिनी नभएकाहरूले राजधानी काठमाडौंस्थित बालगोपालेश्वर मन्दिरमा गई वैकल्पिक रूपमा टीका लगाउने चलन छ।
तिहारको अन्तिम दिनको रूपमा मनाइने यो पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, स्नेह र प्रेमलाई अझ गहिरो बनाउने विश्वास गरिन्छ।
























