दाङ/राजपुर,असोज- २ । राजपुर गाउँपालिका–२ मटेरियास्थित फेमिली प्याराडाईज इङ्लिस बोर्डिङ स्कुलमा शुक्रबार Casual Dress & Food Sharing Activity सम्पन्न भएको छ।

विद्यालयले प्रत्येक महिनाको पहिलो शुक्रबार सञ्चालन गर्दै आएको Fun Friday कार्यक्रमअन्तर्गत यसपटक उक्त गतिविधि सञ्चालन गरिएको हो।
कार्यक्रममा विद्यालयका इच्छुक विद्यार्थीहरूले नियमित विद्यालय पोशाकभन्दा फरक आरामदायी पहिरनमा सहभागी भएका थिए।
विद्यार्थीहरूले घरमा तयार पारिएका स्वस्थकर तथा स्थानीय परिकार विद्यालयमा ल्याई एक–अर्कासँग बाँडेर खाएका थिए। खाना बाँडेर खाने क्रममा विद्यार्थीहरूले आपसमा परिचय, आत्मीयता र सहकार्यको भावना साटासाट गरेका थिए।
कार्यक्रमलाई विद्यालयकी शिक्षक सुनमाया बुढामगरले सहजीकरण गरेकी थिइन्। उनले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै विद्यार्थीहरूलाई सक्रिय रूपमा सहभागी हुन प्रेरित गरेकी थिइन्।

कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै रमाइलो गरेका थिए। साथै, विद्यार्थीहरूले कार्यक्रममा आफूले पाएको अनुभव र सिकाइबारे आफ्ना भनाइसमेत राखेका थिए।


विद्यालयका अनुसार पढाइसँगै व्यवहारिक सिकाइ, आपसी सहयोग, साझेदारी, सामाजिक सद्भाव र स्वस्थ खानाको संस्कार विकास गराउने उद्देश्यले प्रत्येक महिनाको पहिलो शुक्रबार Fun Friday अन्तर्गत विभिन्न सिर्जनात्मक तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिँदै आएको छ।


























