दाङ देउखुरी । इ.प्र.का. लमही र लमही नपाको संयुक्त पहलमा लमही क्षेत्रमा रहेका ग्यास कम्पनी तथा पेट्रोल पम्पहरुको अनुगमन गरिएको छ ।
पछिल्लो समय बजारमा ग्यास तथा पेट्रोलियम पदार्थको अभाव बढेपछि वास्तविक अवस्था बुझ्न अनुगमन गरिएको हो ।
इलाका प्रशासन कार्यालय लमहीका प्रमुख शोभाराम रिजालका अनुसार अनुगमनका क्रममा बजारमा ग्यास तथा पेट्रोलियम पदार्थको अभाव देखिएको छैन । “उपभोक्ताले आधा ग्यास भए पनि निरन्तर प्राप्त गरिरहेको अवस्था छ,पेट्रोल पम्पहरूमा पनि सहज रूपमा इन्धन उपलब्ध भएको प्रत्यक्ष देखियो,” उनले बताए ।
लमही- ८ स्थित राप्ती ग्यास उद्योगमा पनि निरीक्षण गरेको हो । उद्योगका प्रतिनिधिका अनुसार दैनिक दुइ हजार पाँच सयदेखि दुइ हजार आठ सयसम्म ग्यास सिलिन्डर बजारमा आपूर्ति भइरहेको कम्पनीले जानकारी दिएको छ ।
उक्त ग्यास दाङ,बाँके,बर्दिया,कैलाली,प्युठान र अर्घाखाँचीसम्म वितरण हुने गरेको जानकारी दिइएको छ । हाल बजारमा ७.१ किलो ग्यास सिलिन्डर उपभोक्ताले पाउने गरेका छन् । कम्पनीले प्रतिउपभोक्ता ९ सय २९ रुपैयाँ ४४ पैसामा बिक्री गर्दै आएको ग्यास डिलरमार्फत ९ सय ५५ रुपैयाँसम्ममा बिक्री भइरहेको पाइएको छ ।
यसैगरी लमहीका श्रीराम डिजेल,प्रतिष्ठा आयल स्टोर,हुहिभा आयल स्टोर, छम्पाली डिजल, चन्द्र विनायक सप्लायर्स र न्यु श्रेष्ठ किराना पसलमा समेत अनुगमन गरिएको थियो । हाल दाङको बजारमा पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ,डिजेल र मट्टीतेल प्रतिलिटर १५१रुपैयाँमा बिक्री भइरहेको छ ।
लमही नपा उपभोक्ता हित संरक्षण शाखा प्रमुख शिवराज न्यौपानेले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेहरुलाई कडा कारबाही गरिने चेतावनी दिए । उपभोक्तालाई सहज रुपमा इन्धन उपलब्ध गराउन सम्बन्धित कम्पनी तथा डिलरलाई निर्देशन दिइएको छ ।
अनुगमन टोलीमा इलाका प्रशासन कार्यालयका प्रमुख शोभाराम रिजाल,लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख शिवराज न्यौपाने,वडा प्रहरी कार्यालय लमहीका प्रहरी सहायक निरीक्षक डम्बर बुढाथोकी तथा पत्रकार लगायतको सहभागिता रहेको थियो ।

























