✍ सम्पादकीय / टोपेन्द्र खनाल ।नेपालको राजनीतिक अवस्था आज अनिश्चित र चुनौतीपूर्ण मोडमा उभिएको छ। संविधान निर्माण र लोकतान्त्रिक अभ्यासको दशकौँपछि पनि राजनीतिक स्थिरता र दीर्घकालीन विकासको बाटो पूर्ण रूपमा खुलेको छैन। दलहरू सत्ता समीकरण, गठबन्धन र संगठन मजबुत पार्नमा व्यस्त छन्, तर जनताको अपेक्षा भने रोजगारी, शिक्षा, स्वास्थ्य, न्याय र पारदर्शिता जस्ता आधारभूत विषयमा केन्द्रित छ।
GenZ आन्दोलनले युवा पुस्तालाई राजनीतिक चेतना र जवाफदेहिता सिकाएको छ। उनीहरूले नयाँ सोच, पारदर्शिता र जनभावना बुझ्ने नेतृत्वको माग गरेका छन्। तथापि, पुरानै सोच, शक्ति खेल र स्वार्थप्रवृत्ति अझै प्रभावशाली देखिन्छ। यदि यी प्रवृत्तिहरू फेरि दोहोरिए भने, स्थायित्व, विकास र जनविश्वासमा ठूलो खडेरी पर्न सक्छ।
चुनाब अहिले नजिकिँदैछ। २ वर्षअघि सारिएको चुनाव भए पनि, राजनीतिक माहोल पुरानै शैलीमा रह्यो भने केवल सत्ता र गठबन्धनको खेल दोहोरिने छ। यस्तो अवस्थामा देश र असली नेपालीहरुको हितमा केही नयाँ हुने सम्भावना न्यून निश्चित छ। जनता र युवा पुस्ताले चाहेको परिवर्तन, पारदर्शिता र जवाफदेहिता केवल भाषण र घोषणा मात्रमा सीमित रह्यो भने परिणाम निराशाजनक हुनेछ।
त्यसैले यो समय केवल चुनावको लागि होइन, राजनीतिक सोच, नेतृत्व चरित्र र नीति निर्माणको दृष्टिकोण सुधार्ने अवसरको रुपमा हामी सबैले लिनु पर्ने देखिन्छ । राजनीतिक दलहरू केवल गठबन्धन र शक्ति समीकरणमा सीमित नरही, बरु जनभावना, विकास आवश्यकता र जवाफदेहिता केन्द्रमा राखेर निर्णय लिनु आवश्यक छ। यति हुँदा मात्र नागरिकको भरोसा फेरि स्थापित हुन सक्छ।
अन्ततः, नेपालको राजनीति विकल्प र चुनौतीको मिश्रण हो। पुराना शैलीमा चुनाव भए देश र असली नेपालीको हितमा केही ठोस परिणाम नआउने चेतावनी स्पष्ट छ। अहिलेको आवश्यकता भनेको प्रणाली, अनुहार, सोच विकास र विश्वास हो कि !

























