काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकामा हाटबजार ठेक्का तथा राजस्व हिनामिना प्रकरणमा संलग्न तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित ७ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आ.व. २०७७/७८ र २०७८/७९ मा पशु, वाख्रा तथा गुदरीजस्ता हाटबजार सञ्चालनको ठेक्कामा कानुन विपरीत राजस्व छुट दिने र बिना प्रतिस्पर्धा ठेक्का दिएर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याएको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो।

मुख्य प्रतिवादीहरू: तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, उपप्रमुख रेशम कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृतहरू (श्रीधर के.सी. र अनन्त कुमार पौड्याल), निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नारायण महतो, राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र ठेकेदार वीरेन्द्र कुमार यादव।
बिगो तथा सजायको माग: संलग्न कसुरको मात्रा अनुसार कुल रु. १,६०,४६,३४४।१० र रु. १,३३,११,४३१।१० बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद, जरिवाना तथा बिगो असुलउपर गर्न मागदाबी लिइएको छ।


























