काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गर्न सबै ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको गुनासो प्राप्त भएकाले अनिवार्य भ्याट बिलको व्यवस्था मिलाउन ताकेता गरेको हो।
निगमका निर्देशक इन्जिनियर विनीतमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा यसअघि पनि २०८१ साउन ३० र २०८१ माघ १० गते नेपाल एलपी ग्यास उद्योग सङ्घलाई यस विषयमा ध्यानाकर्षण गराइएको स्मरण गराइएको छ।
पत्रमार्फत ग्यास उद्योगहरूले आफ्ना आधिकारिक बिक्रेता (डीलर) हरूमार्फत बिक्री वितरण गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

























