दाङ देउखुरी – राजपुर -१, रसरीखोला – राजपुर गाउँपालिका–१, रसरीखोला स्थित रामेश्वरी बाल जनता आधारभूत विद्यालय नजिकै रहेको गोराके खोलामा कल्भर्ट नहुँदा स्थानीय बासिन्दा तथा विद्यालय परिवारले विशेष गरी वर्षातको समयमा गम्भीर समस्या भोगिरहेका छन्।

विद्यालयका कार्यालय सहयोगी तिलबहादुर कामीले खोलामा कल्भर्ट नहुँदा वर्षायाममा आवतजावत अत्यन्त जोखिमपूर्ण हुने गरेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्। उनी जलबराह मिडियासँग कुरा गर्दै गहभरी आँसु लिएर भावुक हुँदै भने, “सर–म्याडमहरू टाढाबाट आउनुपर्छ। यस खोलादेखि दक्षिणतर्फ करिब ३५ घरधुरी छन्, जहाँ मेरो पनि घर पर्छ। यही खोलामा कल्भर्ट नहुँदा म आफैं विद्यालय जान सक्दिनँ, अनि बालबालिकालाई विद्यालय कसरी पुर्याउने?”

स्थानीयका अनुसार वर्षातको समयमा खोलामा पानी बढ्दा आवागमन पूर्ण रूपमा अवरुद्ध हुने गर्दछ। यसले विद्यालयको नियमित पठनपाठनमा गम्भीर असर पारिरहेको छ भने विद्यार्थीहरूको सुरक्षामा समेत जोखिम बढेको छ।
स्थानीय बासिन्दाले सम्बन्धित निकायसँग पटक–पटक माग राख्दा पनि आवश्यक पहल नभएको गुनासो गरेका छन्। उनीहरूले बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै यथाशीघ्र कल्भर्ट निर्माण गर्न जोडदार माग गरेका छन्।

स्थानीय सरकार तथा सरोकारवाला निकायले यसतर्फ चासो दिई छिट्टै समाधान गर्ने अपेक्षा गरिएको छ।

























