काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भएको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ। दिवसका अवसरमा सरकारी तथा गैरसरकारी संघ–संस्था, स्थानीय तह र विभिन्न समुदायले शुभकामना आदानप्रदान, दीप प्रज्वलन, अन्तरक्रियालगायतका कार्यक्रम आयोजना गर्दै आएका छन्।

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, मौलिक हक, नागरिक स्वतन्त्रता, समानता, सामाजिक न्याय तथा समावेशी शासन प्रणालीलाई संस्थागत गरेको छ।
संविधान दिवसका अवसरमा संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, कानुनी शासन, नागरिक अधिकारको संरक्षण तथा समृद्ध मुलुक निर्माणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ।


























