
दाङ । दाङको तुलसीपुर–६ मा रहेको शिखा इङ्लिस बोर्डिङ स्कुलले मंगलबार विविध कार्यक्रम गरी आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ ।
विद्यालयका प्रधानाध्यापक सुमन केसीको अध्यक्षता एवम् एन प्याब्सन दाङका अध्यक्ष सालिकराम कार्कीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गरी देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
समारोहमा समाजसेवी ईश्वरी भण्डारी, सगरमाथा बोर्डिङ स्कुलका प्रधानाध्यापक छविकुमार वली, ग्रेट अरनिको माविका प्रधानाध्यापक विष्णु देवकोटा र तुलसीपुर नगर जेसिजका अध्यक्ष कमल प्रकाश शर्मा लगायतले शिखा बोर्डिङले शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै आगामी दिनमा थप प्रगतिको कामना गरे ।
विद्यालयका सहायक प्रधानाध्यापक प्रदिपकुमार भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक यमुना रिजालले गरेकी थिइन ।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले विभिन्न जातजातिको संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो ।

























