
पाँच पूर्णिमा मेला व्यवस्थापन समिति र उज्ज्वल भविष्य बाल तथा युवा क्लबको संयुक्त आयोजनामा उक्त कार्यक्रम तथा प्रतियोगिता सम्पन्न भएको हो।
मेला व्यवस्थापन समितिका अध्यक्ष कमानसिंह वलीको अध्यक्षता तथा राजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले विभिन्न समुदायका कला-संस्कृति जोगाउन र संरक्षण गर्न स्थानीय तह सदैव लागिपरेको बताए।

कला-संस्कृति नै हाम्रो पहिचान भएकाले यसको संरक्षणका लागि आफ्नो कार्यकालमा सक्दो सहयोग गर्ने उनको भनाइ थियो।
मेला व्यवस्थापन समितिका सचिव लालबहादुर घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शङ्कर आधारभूत विद्यालय करङ्गा खोलाका शिक्षक-अभिभावक सङ्घका संयोजक दीपेश पुन, सीधापत्र डटकमका सञ्चालक तथा प्रबन्ध निर्देशक मेगमन बुढा र प्रहरी चौकी बेलाका इन्चार्ज देवप्रसाद पौडेलले आ-आफ्नो शुभकामना मन्तव्य राखेका थिए।
भलिबल प्रतियोगिताको नतिजा:
प्रतियोगिताअन्तर्गत भएको भलिबल खेलमा आयोजक टिम प्रथम भएको छ भने राजपुर-४ मुङ्ग्रेठा खोला द्वितीय र राजपुर-१ माररी खोला तृतीय भएको आयोजक टिमका सदस्य गङ्गा घर्ती (प्रकाश) ले जानकारी दिए।

कार्यक्रममा क्लब र विभिन्न स्थानबाट आएका प्रतिभाशाली कलाकारहरूले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए।
सीधापत्र अनलाइन टिभीका कार्यक्रम प्रमुख मानव रानाले सहजीकरण गरेको उक्त कार्यक्रमको सञ्चालन स्थानीय तथा युवाहरूको सहभागितामा भव्य रूपमा सम्पन्न भएको थियो।


























