श्रवण कुमार यादव।
देउखुरी , साउन-२५।लमही नगरपालिका-५, लमही गोरक्ष टोल निवासी पत्रकार भानदेव जोशी(भानु) द्वारा आफ्नो धर्मपत्नी स्व. शिवा कुमारी जिसी जोशीकाे स्मृतिमा वार्षिक पुण्यतिथिकाे अवसरमा देउखुरीको राजपुर गाउँपालिका वडा नम्वर २, मटेरिया स्थित जनज्योति माध्यमिक विद्यालयमा आज आइतबार ५१ हजार ५ सय ५५ रुपैयाँ बराबरको स्व. शिवा कुमारी जिसी जोशी स्मृति अक्षय कोष स्थापना गरिएको छ ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष अमरराज गिरीको अध्यक्षता तथा वुद्धिजीवी, समाजसेवी एवम् स्व. शिवा कुमारीका दाजु हेम कुमार जिसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अक्षयकोष संस्थापक तथा स्व. शिवाको श्रीमान भानदेव जोशी, राजपुर गाउँपालिका वडा नं २ का पूर्व वडा सदस्य अर्जुन जिसी, समाजसेवी सन्तबहादुर वली, सञ्चारकर्मी नवराज गुरुङ र टेकेन्द्र वली लगायतको उपस्थिति रहेको विद्यालयका प्रधानाध्यापक केशवराम यादवले बताए ।
विद्यालयका प्रधानाध्यापक केशवराम यादवले स्व. शिवा कुमारीको योगदान स्मरण गर्दै उक्त अक्षय कोष विद्यालय र विद्यार्थीहरूको हितमा महत्वपूर्ण हुने बताए।
प्रमुख अतिथि हेमकुमार जिसीले आफ्नी बहिनीको नाममा स्थापना गरिएको कोषलाई शिक्षा र मानव सेवाको प्रतीकका रूपमा अघि बढाउन आग्रह गर्दै, “यो कोषले नयाँ पुस्तालाई प्रेरणा दिने ” बताए ।

उक्त कार्यक्रमलाई समापन गर्दै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज गिरीले कोषको पारदर्शिता र प्रभावकारी उपयोग सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्वर्गीय जिसी(जोशी) नेपाल प्रहरीका सहायक प्रहरी निरिक्षकको प्रेसरका कारण एकबर्ष अघि आजैका दिन काठमाण्डौमा उपचारका क्रममा निधन भएको थियो। स्व. जिसी (जोशी)ले कक्षा १ देखि ७ सम्म जनज्योती माध्यमिक विद्यालय, मटेरियामा अध्ययन गरेकी थिइन।
























