काठमाडौं । कानून व्यवसायीका छाता संगठन नेपाल बार एसोसिएसनले अहिलेको संविधानभित्रकै प्रक्रियाबाट मुलुकको राजनीतिक निकास खोज्न राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ ।
नेपाल बारले एक विज्ञप्ति जारी गर्दै संविधानसभाले बनाएको संविधान यथावत रहेको अवस्थामा प्रतिनिधिसभासहित संघीय संसदको क्रियाशीलताबाट नै निकास खोज्न आग्रह गरेको हो ।
यसैगरी बारले राष्ट्रपतिका नाममा एक पत्र पठाई आन्दोलनकारी जेन–जी समूहले समेत संविधान र व्यवस्था परिवर्तनको माग नगरेको भन्दै अहिलेकै संरचनाबाट निकास खोज्न भनेको हो । विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनकारी शक्तिहरू सरकार परिवर्तनको इच्छा राखेको र अहिले सरकार परिवर्तनको प्रक्रिया शुरु भएकाले संविधानको धारा ७६, ७७ र ७८ र धारा ६१ को मर्म र भावनामा रहेर राष्ट्रिय सरकार गठन गर्न सकिने भएकोले प्रक्रिया प्रारम्भ गर्न हार्दिक अपिल गर्दछौं ।’
बारले लोकतान्त्रिक मूल्यमान्यता विपरितको कुनै पनि प्रक्रिया आफूहरुलाई मान्य नहुने भन्दै संवैधानिक सर्वोच्चता, विधिको शासन र स्वतन्त्र न्यायपालिकाको मर्म विपरितका काम भएमा प्रतिरोध गर्ने चेतावनी दिएको हो ।
( अनलाइन खबर )
























