असोज-२८ , दाङ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । आउँदो कात्तिक ६ गते बिहीवार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालले जानकारी दिए ।
कात्तिक ६ गतेका दिन मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा. देवमणि भट्टराईले जानकारी दिए ।
यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिवारदेखि शुरू हुन्छ भने त्यसै दिनदेखि यमदीप दान शुरू गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतवार काग तिहार परेको छ । यस दिन धनवन्तरी जयन्ती पर्व समेत मनाइन्छ ।
कात्तिक ३ गते सोमवार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ३ गते दिउँसो २ बजेर ५२ मिनेटसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले त्यसै अनुसार पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । औँशी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलवार बिहान गर्नुपर्नेछ ।
कात्तिक ४ गते दिउँसो ४ बजेर २९ मिनेटसम्म औँशी तिथि रहेको समितिले जनाएको छ । गाई, गोरु र आत्म ९म्ह० पूजा भने कात्तिक ५ गते बुधवार हुनेछ । आत्म ९म्ह० पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । यसै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ ।
प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष ढकालले बताउनुभयो । यसै दिनदेखि नेपाल संवत् ११४६ शुरू हुन्छ । भाइपूजा र किजापूजा पनि कात्तिक ६ गते मनाइनेछ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउँछ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजुभाइलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।
























