भालुवाङ, २४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै दाङको राप्ती गाउँपालिका–२, लालमटियास्थित चन्द्रज्योती बोर्डिङ स्कुलका विद्यार्थी तथा शिक्षक–कर्मचारीले राहत कोषमा आर्थिक सहयोग गरेका छन्।
विपद्मा परेका नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारले स्वेच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
विद्यालयका विद्यार्थीबाट ७ हजार ६ सय ९० रुपैयाँ तथा शिक्षक–कर्मचारीबाट ३० हजार १ सय ७५ रुपैयाँ गरी कुल ३७ हजार ८ सय ६५ रुपैयाँ सहयोग संकलन भएको विद्यालय प्रशासनले जनाएको छ। उक्त रकम लालमटियास्थित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि पीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला चन्द्रज्योती विद्यालय परिवारले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरेको हो।
विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानसँगै मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहयोगको भावना विकास गराउने उद्देश्यले पनि यस्तो अभियान सञ्चालन गरिएको जनाएको छ।
विपद्को समयमा सहयोगको रकमभन्दा पनि पीडितप्रति देखाइएको मानवीय भावना महत्वपूर्ण हुने भन्दै विद्यालय परिवारले आफ्नो क्षमताअनुसार सहयोग गरेको जनाएको छ। चन्द्रज्योतीको यो पहलले विपद्का बेला शैक्षिक संस्थाले निर्वाह गर्न सक्ने सामाजिक भूमिकाको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

























