दाङ / राजपुर, भदौ -१८ । आफ्ना लागि खर्च गर्नुपर्ने खाजाको पैसा कटाएर विपदमा परेका नागरिकका लागि सहयोग गर्नु सायद ठूलो रकम नहोला, तर त्यसमा जोडिएको मानवीय भावना र करुणा भने अमूल्य हुन्छ। यही भावनालाई आत्मसात् गर्दै दाङको राजपुर गाउँपालिका–२, मटेरियास्थित फेमिली प्याराडाइज इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत इच्छुक विद्यार्थीहरूले बाढीपीडितका लागि सहयोग गरेका छन्।

विद्यालयमा अध्ययनरत इच्छुक विद्यार्थीहरूबीचको आपसी सहमतिमा आफ्नो खाजाखर्चबाट सकेको रकम बचत गरी रु. ४,५४० संकलन गरिएको थियो। विद्यार्थीहरूले संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
भोटेकोशी क्षेत्रमा आएको बाढीले धेरै परिवारको खुसी खोसेको, घरबार उजाडेको र ठूलो पीडा दिएको खबरले आफूहरूलाई भावुक बनाएको विद्यार्थीहरूले बताएका छन्। “हामीसँग धेरै छैन, तर हामीसँग भएको थोरैबाट पनि कसैको दुःखमा साथ दिन सक्छौँ” भन्ने भावनाका साथ उनीहरूले आफ्नो खाजाको पैसा सहयोग गरेका हुन्।
सानो उमेरका विद्यार्थीहरूले आफ्ना रहर र आवश्यकता केही समय थाती राखेर विपद्मा परेकाहरूका लागि गरेको यो सहयोगले सहयोग रकमभन्दा ठूलो मानवीय सन्देश दिएको छ। उनीहरूको यो कार्यले समाजमा सहयोग, सहानुभूति र सामाजिक उत्तरदायित्वको भावना अझ बलियो बनाउन प्रेरणा दिएको छ।
कार्यक्रमको सहजकर्ताको भूमिका छात्रा आशिका बिकले निर्वाह गरेकी थिइन्। विद्यालयले विद्यार्थीहरूको यस मानवीय भावनाको प्रशंसा गर्दै सामाजिक सेवाप्रति उनीहरूको लगावलाई आगामी दिनमा पनि प्रोत्साहन गर्ने जनाएको छ।
सायद रु. ४,५४० ले सबै पीडा मेटिँदैन, तर पीडामा रहेका मनहरूलाई ‘हामी एक्लै छैनौँ’ भन्ने अनुभूति गराउन सक्छ। फेमिलीका यी विद्यार्थीको सानो त्याग त्यसैको सुन्दर उदाहरण बनेको छ।

























