विशेष रिपोर्ट, टोपेन्द्र खनाल/जलबराह मिडिया:
मानव निर्मित आधुनिक वास्तुकलालाई समेत माथ गर्ने प्रकृतिको अनौठो कला कतिसम्म अचम्मको हुन्छ भन्ने गतिलो उदाहरण दाङको राजपुर गाउँपालिका वडा नं. २, मटेरियास्थित श्री शक्ति सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा देखिएको छ। जंगलको बीचमा ठडिएको कुनै प्राचीन मन्दिरको शिखर शैली वा ‘देवल’ जस्तै देखिने यो विशालकाय संरचना बाहिरबाट हेर्दा एक कलात्मक माटोको टावर जस्तो लाग्छ।
स्थानीय बोलीचालीमा यसलाई ‘देवल’ वा ‘मुइँलो’ भनिए तापनि यो साना जीव धमिराहरूले वर्षौंसम्म मेहनत गरेर बनाएको वैज्ञानिक तथा सुरक्षित भूमिगत बासस्थान हो।
- कसरी तयार हुन्छ धमिराको यो भव्य “देवल”?

माटो र प्राकृतिक “सिमेन्ट”को प्रयोग:
धमिराहरूले जमिनमुनिबाट ल्याएको माटो र बालुवाका सुक्ष्म कणहरूलाई आफ्नै र्याल र पसिना मिसाएर लेदो बनाउँछन्। हावाको सम्पर्कमा आउनेबित्तिकै यो लेदो चट्टानजस्तै कडा र मजबुत बन्छ।
2. भित्री वास्तुकला र सुरुङमार्ग:
बाहिरबाट ढिस्को देखिए पनि यसभित्र जटिल सुरुङहरू, रानी धमिरा बस्ने खास कक्ष, अण्डा र खाद्य सामग्री भण्डार गर्ने ठाउँहरू बनाइएका हुन्छन्।
3.प्राकृतिक एयर कन्डिसन (AC) प्रणाली :
यी देवलहरूको सबैभन्दा अचम्मको वैज्ञानिक पाटो भनेको हावा आवतजावत गर्ने प्रणाली हो। जमिनमुनिको तापक्रमलाई सधैं एकनास राख्न संरचनाभित्र विशेष भेन्टिलेसन प्वालहरू हुन्छन्, जसले बाहिरको तातो-चिसो हावालाई सन्तुलन गर्छ।
4.पर्यावरणीय महत्त्व र संरक्षणको आवश्यकता :
वातावरणविद्हरूका अनुसार धमिराहरू प्रकृतिका ‘सुक्ष्म इञ्जिनियर’ हुन्। यिनले जमिनमुनिको माटो माथि ल्याएर माटोमा हावाको सञ्चार गराउँछन् र सडेका काठपातहरूलाई कुहाएर माटोलाई अति मलिलो बनाउन मद्दत गर्छन्।
दाङका चुरे तथा भावर क्षेत्रमा यस्ता देवलहरू फाट्टफुट्ट देखिने गरे पनि संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै गएका छन्।
राजपुर-२ मटेरियास्थित जंगलमा भेटिएको यो प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यापर्यटन (Eco-tourism) सँग जोड्न सके स्थानीय तह र वन उपभोक्ता समूहका लागि यो एक अनुपम पहिचान बन्न सक्छ।

























