दाङ/राजपुर,२९ कार्तिक । दाङ देउखुरीको राजपुर गाउँपालिकामा पेट्रोल छर्केर आगो लगाइएका एक पुरुषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।
राजपुर गाउँपालिका वडा नं. २ का ४९ वर्षीय रूपलाल चौधरीको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार चौधरीको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।
शनिबार दिउँसो करिब २:२० बजे राजपुर गाउँपालिका–२ खालगैरामा सोही ठाउँका ३८ वर्षीय त्रिलोक सिंह कार्कीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्किई आगो लगाएको प्रहरीले जनाएको छ ।
घटनापछि फरार रहेका कार्कीलाई प्रहरीले खोजी गर्ने क्रममा लमही नगरपालिका–५ रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो ।
आगोले जलेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि लमही अस्पताल पुर्याइएको थियो ।
त्यहाँबाट थप उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल रिफर गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । घटनामा संलग्न कार्कीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

























