दाङ देउखुरी । देउखुरीको गढवामा विहिवार बिशेष कार्यक्रमका साथ किसानहरुले उत्पादन गर्ने तरकारी,खाद्यान्न तथा पशुचौपायाको बजारीकरण गर्ने उद्देश्यले गढवा गाउँपालिकाको पहलमा कृषि उपज संकलन केन्द्रको उद्घाटन गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारका कृषि, भूमी ब्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले संकलन केन्द्रको उद्घाटन गर्नुभएको हो ।कार्यक्रममा बोल्दै प्रदेश सरकारका कृषि मन्त्री पन्थीले गढवा गाउँपालिकाले कृषि उपज संकलन केन्द्रको स्थापना गरि लुम्बिनी प्रदेशमै उदाहरणिय कार्य गरेको भन्दै प्रदेश सरकारको सहयोग र साथ रहने बताए ।किसानहरुलाई कृषि उपजको उत्पादनमा प्रोत्साहन गर्नु र उत्पादित सामानहरु बजारीकरणमा सहयोग गर्नु सरकारको दायित्व भएको र यसो गरिएका किसानहरुको समृद्धि हुने बताए ।
राष्ट्रको समृद्धि किसानहरुको समृद्धिसंग जोडिएको हुँदा गढवा गाउँपालिकाले साझेदार संस्थाहरु, ग्रामिण महिला उत्थान केन्द्र, गढवा उद्योग बाणिज्य संघ र हेफर इण्टरनेशनल परियोजनासंग सहकार्य गर्दै कार्यबिधि निर्माण गरेर अगाडी बढ्न मन्त्री पन्थीले आग्रह गरे ।कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री तथा सांसद ईन्द्रजित थारुले कृषि उत्पादनलाई प्रोत्साहन गर्दै किसानहरुले उत्पादन गरेको सामाग्री बजारीकरणको दायित्व गढवा गाउँपालिकाले लिएर प्रशंसनीय कार्य गरेको बताए । किसानहरुको जोखिम राज्यले लिए मात्र किसानहरुको समृद्धि हुने उनले बताए ।कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी,लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रालयका मत्स्य बिकास अधिकृत तिलक पोख्रेल, गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौडेल,हेफर इण्टरनेशनल क्षेत्रीय प्रबन्धक प्रकाश केसी,अधिकृत महेश कुमार आचार्य,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेल,ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरी र थारु कल्याणकारीणी क्षेत्र नं. १ का अध्यक्ष प्रकाश चौधरी लगायतले बोलेका थिए।
गढवा गाउँपालिका,हेफर ईण्टरनेशनल परियोजना र ग्रामिण महिला उत्थान केन्द्रको संयुक्त लागत साझेदारीमा देउखुरीको गढवामा कृषि उपज संकलन केन्द्रको उद्घाटन गरिएको परियोजना गढवाका संयोजक बसन्त कुमार शर्माले जानकारी दिए । बिपन्न,सिमान्तकृत र बेरोजगार किसानहरुलाई उद्यम बिकास तर्फ जोड्न र किसानहरुलाई उत्पादनमा प्रोत्साहन गर्दै उनिहरुको उत्पादनलाई बजारीकरण गर्न संस्थाले सहयोग गर्ने उनले बताए ।
गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आले मगरको स्वागत मन्तव्यबाट सुरु भएको कृषि उपज संकलन केन्द्रको उद्घाटन समारोहको सञ्चालन गढवा गाउँपालिकाका कृषि अधिकृत फूलन देवि चौधरीले गरेकि थिइन्।