दाङ देउखुरी / राजपुर , २८ कार्तिक:
दाङ जिल्लाको राजपुर गाउँपालिका वडा नं. २ खाल गैरामा एक व्यक्तिलाई शरीरमा पेट्रोल छर्केर आगो लगाएर फरार रहेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी विज्ञप्ति अनुसार, मिति २०८३ साल कार्तिक २८ गते अन्दाजी दिउँसो १४:२० बजेको समयमा ३८ वर्षीय त्रिलोक सिंह कार्कीले आफ्नै मोटरसाइकलको पेट्रोल निकाली सोही ठाउँ बस्ने ४९ वर्षीय रुपलाल चौधरीको शरीरमा छर्केर आगो लगाएका थिए।


घटनापछि फरार भएका कार्कीलाई इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी बेलाबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा लमही नगरपालिका वडा नं. ५ रातोडाँडाबाट नियन्त्रणमा लिएको हो।
घटनामा गम्भीर घाइते भएका रुपलाल चौधरीलाई प्रारम्भिक उपचारका लागि लमही अस्पताल पठाएपछि थप उपचारका लागि नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल रिफर गरिएको छ। पक्राउ परेका त्रिलोक सिंह कार्कीमाथि प्रहरीले थप अनुसन्धान कार्य अगाडि बढाइरहेको छ।

























