तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका – ११ ले कार्तिक २७ गतेका दिन ६५ जना दलितलाई ‘पूर्णबहादुरको सारंगी’ फिलिम हेराएको छ । चलचित्र भित्र भएको कथावस्तुको माध्यमबाट दलित समुदायको सशक्तिकरण गर्ने उद्देश्यल वडाकै लगानीमा टिकट काटेर फिलिम हेर्न व्यवस्था मिलाएको वडा अध्यक्ष मानबहादुर रावतले जानकारी दिनुभयो । वडाले दाङको नारायणपुर स्थित भिएफएक्स हलमा रहिदिन यतादेखि चलिरहेको ‘पूर्णबहादुरको सारंगी’ फिलिम हेर्नका लागि टिकटको व्यवस्था, आउनजानका लागि यातायात र नास्ताको समेत व्यवस्था गरेको थियो ।
चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले नेपाली समाजमा आमाबिना बालबालिका अलपत्र पर्ने अवस्थालाई चित्रण गरेको र एक आमा फेरि विवाह गरेर गएपछि पनि बुवाले आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन सक्छन् भन्ने सन्देश दिएकोले पनि वडाका दलित समुदाय सचेतना दिनलाई वडाले चलचित्र हेर्ने व्यवस्था मिलाएको वडा अध्यक्ष रावतले बताउनुभयो । उहाँले हाल समाजमा अझै पनि धेरै बालबालिका आफ्ना आमाबुवाको अवहेलनाको कारणले उच्च शिक्षाबाट वञ्चित हुने परिस्थितिको उदाहरण रहेको र यसले अभिभावकहरूको जिम्मेवारीबोधमा सुधार ल्याउनुपर्ने देखाएको बताउनुभयो ।
चलचित्रले परम्परागत सोचको सीमा चिरेर नयाँ दृष्टिकोण दिने प्रयत्न गरेको बताउँदै वडा अध्यक्ष रावतले दलित सशक्तिकरणका लागि वडाले सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूको महत्वलाई जोड दिएको बताउनुभयो । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासहित ६५ जना सहभागीहरूलाई ‘पूर्णबहादुरको सारंगी’ चलचित्र हेर्नको लागि वडाले यो अवसर प्रदान गरेको हो । उनिहरुको जीवनसंग मेल खाने कथा वस्तु समेटीएको पूर्णबहादुरको सारङ्गी फिल्म हेर्नका लागि यति ठूलो संख्यामा दलित समुदायलाई संगै राखेर फिलिम देखाउने तुलसीपुर –११ नम्बर वडा दाङमै पहिलो वडा भएको पाईएको हो । तुलसिपुर खबर ।
























