काठमाण्डौ, २० मंसिर । गुल्मीको सत्यवती गाउँपालिकाले पालिकाभित्रका गाई सुत्केरी भए दश हजार रुपियाँ अनुदान दिने भएको छ ।
पालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाच्छी हुर्काउने कार्यलाई प्रोत्साहन गर्नका लागि पहिलो पटक सुत्केरी भएको बाच्छी हुनुपर्नेछ । उक्त बाच्छी सुत्केरी भएमा गाईपालक कृषकलाई दश हजार रुपियाँ अनुदान दिने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालका अनुसार २०८१ साउन १ गतेदेखि २०८२ असार १५ गतेभित्र घरमा पालेको गाई पहिलो पटक सुत्केरी भएमा दश हजार रुपियाँ अनुदान स्वरुप कृषकलाई प्रदान गरिनेछ ।
उक्त अनुदान लिनका लागि असोज ५ गतेसम्म आफूले पालेको कोरेली गाई वाली भएको जानकारी पालिकाको पशुपन्छी विकास शाखालाई जानकारी गराएको हुनुपर्नेछ । अनुदान लिनका लागि निवेदन, तीन जना छिमेकीको मुचुल्का, वडा कार्यालयको सिफारिस, माउँ र बच्चा स्पस्ट देखिने फोटो र भेटेरिनरी प्राविधिकले स्थलगत अनुगमन गरी दिएको रिपोर्टको आधारमा कृषकको बैंक खातामा सिधै रकम भुक्तानी गरिने भुसालले बताउनुभयो । सत्यवती गाउँपालिकामा १२ वटा समूहका दुई सय दुई जना कृषकहरुले मासिक ३३ हजार लिटर दुध बिक्री गर्ने गरेको पशुसेवा शाखाका प्रमुख नारायण खनालले जानकारी दिनुभयो ।