दाङ , असोज -६ । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रका कारण दाङसहित नेपालका विभिन्न भू–भागमा असोज ९ गतेदेखि ११ गतेसम्म हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दाङले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको विपद् व्यवस्थापनसम्बन्धी जरुरी सूचनामा पहाडी क्षेत्रमा पहिरो तथा दाङ भएर बहने बबई र राप्ती नदीलगायत नदी तथा खोलामा डुबान र कटानको उच्च जोखिम हुनसक्ने उल्लेख गरिएको छ।
प्रशासनले उक्त अवधिमा अत्यावश्यक कामबाहेक टाढा तथा रातिको यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा नजान तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
त्यस्तै, जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।
नदी तथा पहिरोको जोखिम भएका क्षेत्रमा स्थानीय तहले क्विक रेस्पोन्स टिम (QRT) तयारी अवस्थामा राखी प्रतिकार्यमा जुट्नसमेत प्रशासनले आग्रह गरेको छ।

























