
राजपुर, दाङ देउखुरी । राजपुर गाउँपालिका २ नम्बर वडा मटेरिया स्थित फेमिली प्याराडाईज इ. बो. स्कुलको आयोजनामा यही बैशाख २६ गते शुक्रबारका दिन “विद्यार्थीको चौतर्फी उन्नतिकालागी विद्यालय – अभिभावकबिच अन्तरक्रिया “कार्यक्रम सम्पन्न भएको छ ।

शैक्षिकसत्र २०८२ को भर्ना अभियानको अन्तिम समयको अवसरमा विद्यालयले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
अन्तरक्रिया कार्यक्रम अभिभावकलाई पायक पर्ने ३ फरक फरक स्थानमा सम्पन्न गरिएको हो ।

विद्यालय र अभिभावक मिलेर अघि बढे मात्र बालबालिकाको चौतर्फी उन्नति हुने, उनिहरुको भविष्य उज्यालो बनाउन सकिने हुँदा विद्यालयले आफ्नो भावी योजना , सपना र कार्यशैलीबारे अभिभावकलाई समयमै जानकारी गराउनुपर्ने र अभिभावकहरुको आवाज विद्यालयले सुन्नुपर्ने भएकोले भर्ना अभियानको कार्यक्रम पश्चात् उक्त कार्यक्रमको आयोजना गर्नुको मुख्य उद्देश्य रहेको विद्यालयले जनाएको छ ।

विद्यालयमा विद्यार्थीहरुलाई केवल किताब मात्र होइन जीवनका मूल्य , व्यवहार, सिर्जनशीलता नेतृत्व र आत्मबिश्वासका बारेमा सिकाउनुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा विद्यालयले आफ्नो विशेषता र योजना अनुसार शिक्षा पद्धति , शुल्क चुक्ता प्रक्रिया , प्रविधि प्रयोग, चरित्र निर्माण , अतिरिक्त क्रियाकलाप लगायत विद्यार्थीको चौतर्फी बिकासका दृष्टिकोणहरु प्रस्तुत गरेको थियो भने प्रश्नोत्तर सत्रमा अभिभावकहरुको अनुभव , सुझाव सुनी जवाफ प्रदान गरेको थियो ।

अभिभावकहरुको आम्दानीको श्रोतलाई मध्ययनजर गर्दै विद्यालयले अनावश्यक शिर्षकमा शुल्क लिन नहुने , विद्यार्थीको हातबाट बिल पठाउने प्रवृतीको अन्त्य गर्नमा अभिभावक र विद्यालयबिच सहकार्यमा जोड दिदै बालबालिकाहरुको पठनपाठनमा थप टेवा पुर्याउनको लागि अभिभावक र विद्यालय सङ्गसङ्गै अघि बढ्नुपर्नेमा व्यापकरुपमा छलफल भएको हो ।
कार्यक्रममा पुराना अभिभावकहरुमध्यबाट प्रतिनिधित्व गर्दै शैक्षिकसत्र २०८२ मा जोडिनु भएका नयाँ अभिभावकहरुलाई टीका लगाई सम्मान गरी फेमिली स्कुलमा स्वागत गर्ने काम समेत भएको थियो ।



यसैबिच विद्यालयले आयोजना गरेको कार्यक्रममा सहयोग पुर्याउनु हुने सम्पुर्ण अभिभावक , शिक्षक तथा कर्मचारी लगायत समुदायलाई विद्यालयको तर्फबाट विद्यालय संचालक टोपेन्द्र खनालले सबैलाई धन्यवाद दिनु भएको थियो ।

























