दाङ देउखुरी , मंसिर ७ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको लुम्बिनी प्रदेशस्तरीय भेला आज सोमबार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) मा सुरु भएको छ । भेलाको उद्घाटनका लागि नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा देउखुरी आएका छन् । उनी नेपालगञ्ज हुँदै दाङको भालुवाङ आइपुगेका हुन् ।
कार्यक्रममा कांग्रेस नेता डा. शशांक कोइरालासहित कांग्रेसका केन्द्रीय तथा प्रदेशस्तरका नेताहरू र लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रतिनिधि तथा नेता–कार्यकर्ताहरूको सहभागिता रहेको छ । भेलालाई पूर्वसभापति देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । भेलामा पार्टीको वर्तमान राजनीतिक अवस्था, सङ्गठनात्मक गतिविधि, आन्तरिक एकता र आगामी महाधिवेशनका विषयमा छलफल हुने जनाइएको छ ।
पार्टीभित्रको आन्तरिक राजनीतिक गतिविधि तीव्र भइरहेका बेला आयोजना गरिएको यस भेलालाई लुम्बिनी प्रदेशमा देउवा पक्षको सङ्गठनात्मक अवस्था, भावी रणनीति र पार्टीभित्रको एकताका विषयमा छलफल गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

























