विराटनगर । विदेशमा बस्ने व्यक्तिको फेसबुक आईडी ह्याक गरी नेपालमा रहेका आफन्तसँग अनेक समस्या देखाई रकम माग गर्ने तथा विभिन्न खाताहरूको QR पठाई पीडितबाट रकम ठगी गरेको आरोपमा दुई भारतीय नागरिकसहित चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, मोरङ (आ.व. २०८३/०८४, ने.सं. ११४६) ले २०८३ मंसिर ५ गते जारी गरेको प्रेस विज्ञप्ति (प्रेस विज्ञप्ति नं. ९७) अनुसार पीडितबाट रु. ४,४५,०००/- रकम जम्मा गर्न लगाई ठगी तथा सख्याम गरेको भनी परेको जाहेरीपश्चात् जिल्ला प्रहरी कार्यालय, मोरङबाट प्रहरी टोली खटिएको थियो।
खटिएको प्रहरी टोलीले २०८३ मंसिर ४ गते विराटनगरका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याएको हो। पक्राउ परेका व्यक्तिहरूमाथि हाल थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङले जानकारी गराएको छ।

पक्राउ पर्नेहरूमा भारतको बेतिया जिल्ला, चुरना चौबेक वडा नं. १० स्थायी वतन भई हाल मोरङको विराटनगर महानगरपालिका, एयरपोर्ट मोड छेउ बस्दै आएका २६ वर्षीय ताहिर हुसेन रहेका छन्। त्यसैगरी भारतको विहार प्रदेश, कठिहार जिल्ला, ड्राईभर टोल वडा नं. ०४ स्थायी वतन भई हाल विराटनगर महानगरपालिका वडा नं. ०४ मा डेरा गरी बस्ने ३६ वर्षीय गुड्डु भन्ने मो. साबुदिन पनि पक्राउ परेका छन्। साथै विराटनगर महानगरपालिका वडा नं. १७ बस्ने ३१ वर्षीय जफर आलम र विराटनगर महानगरपालिका वडा नं. ९ बस्ने २३ वर्षीय फैजाज खानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

























